दमौलीमा पनि धुमधामका साथ छठ पर्व मनाइँदै

दमौली : नेपाल भरी धुमधामका साथ मनाइने छठ पर्वको आज मुख्य दिन । मधेशका जिल्ला लगायत पहाडी जिल्लाका सर्वसाधारणले भक्तिभाव र उल्लासपूर्वक छठ पर्व मनाउँदै छन् ।

तनहुँको व्यास नगरपालिका-३ स्थित मादी र सेतीको संगम स्थलमा छठघाट बनाएर झकिझकाउ बनाइएको छ । घाटलाई झिलिमिली बत्तीले सिंगारिएको छ ।

ब्रतालुहरुले जलाशय नजिक बनाएको घाटमा विभिन्‍न परिकारहरु पर्वका पूजा, प्रसाद सामग्री ठेकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू) मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार, केरालगायतका सामग्रीहरु सूर्यलाई चढाउन राखेका छन् ।

आज साँझ ब्रतालुहरुले कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ ।

यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् ।

सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि पर्सी आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?