मतदातालाई कामको चटारो, उम्मेदवारलाई भोट माग्न हतारो

भानु  :  आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब बाँकी १४ दिन रहेको छ  । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् ।

उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ ।

त्यसैले उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् । “नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न”, भानु -८ का नविना कंडेलले भनिन्, “हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।”

धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ जिल्ला सभापति एवं तनहुँ -१ का उम्मेदवार विकास सिग्देलले अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पाएको बताए ।

दलका उम्मेदवार प्रत्येक निर्वाचनमा आवश्वासनको भारी बोके  यस बस्तीमा भोट माग्न पुग्छन् । यहाँका स्थानीयमा दलका उम्मेदवारप्रति खासै धेरै आशा र अपेक्षाचाहिँ केही छैन । उनीहरु भन्छन् ;” जुन जोगी आए पनि कान नै चिरेको “।

तनहुँका दुई  प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि जिल्लाका दशवटै स्थानीय तह गरी २ लाख ४८ हजार ४  सय ९५ मतदाता छन् ।यी सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिन्छ । भने साना दल र स्वतन्त्र उम्मेदवारको पनि प्रभाव राम्रो नै देखिन्छ ।

तनहुँ-१ मा गठबन्धनका साझा उम्मेदावारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेबाट एक बहादुर राना र स्वतन्त्र उम्मेदवार एवं पुर्व गृहमन्त्री गोविन्दराज जोशीको  प्रतिनिधि सभा सदस्यका लागि भिड्न लागेका छन् ।

त्यस्तै गरी तनहुँ -२ मा  गठबन्धनका साझा उम्मेदावारका रूपमा नेपाली कांग्रेसकाकेन्द्रीय सदस्य शंकर भण्डारी , एमालेबाट किरण गुरुङको  प्रतिनिधि सभा सदस्यका लागि भिड्न लागेका छन् ।

कात्तिक १७ गतेपछि दलहरूले आमसभा लगायत कार्यक्रम गर्न पाउने भएपछि तडकभडक सहित कोणसभा गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?