दमौली  :  नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको १०८औँ जन्मजयन्ती बिहीबार मनाइएको छ । दिवसको अवसरमा बिहान व्यास नगरपालिका-२ गणेशमान चोक अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

कार्यक्रममा कांग्रेस नेता एवम् संबिधानसभा सदस्य रामचन्द्र पोख्रेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको उनले जानकारी दिए । एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण योगदान रहेको उनले स्मरण गरे ।

दमौलीमा गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिको कार्यवाहक सभापति रामचन्द्र बस्नेत, सचिव समुन्द्र गोदार , जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, नेपाली कांग्रेसका जिल्ला उपसभापति देव कुमार श्रेष्ठ, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, जिल्ला सचिव लक्ष्मीभक्त खनाल, नेता तारा श्रेष्ठ  कार्यकर्ता लगायतले पनि गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।