मुस्ताङमा प्रतिनिधिसभातर्फ २९ वर्षीय गौचन विजयी

मुस्ताङ : मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काङ्ग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । विजेता गौचन नेपाली काङ्ग्रेस मुस्ताङका जिल्ला सभापति रोमी गौचन थकालीका छोरा हुन् ।

स्नातकसम्म शैक्षिक योग्यता हासिल गरेका गौचन पर्यटन व्यवसायी पनि हुन् ।

गौचनले ३ हजार ९ सय ९२ मत हासिल गर्दै विजय प्राप्त गरेका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत हासिल गरे ।

आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकातर्फबाट प्रविण कुमार शेरचन र राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट सुदेश गुरुङ पनि प्रतिस्पर्धामा उत्रिएका थिए ।

मुस्ताङमा एक अस्थायीसहित ४० वटा मतदान केन्द्रमा मतदान भएको थियो । मतपेटिकाहरु आजै बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याई सर्वदलीय बैठक बसेर गणना सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?