लमजुङ : आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । उम्मेदवारहरू परिणामको व्यग्र प्रतीक्षामा छन् । यस्तैमा प्रतिनिधिसभातर्फका एक उम्मेदवारको निधन भएको छ ।
लमजुङबाट जनता समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका ६८ वर्षीय नरेन्द्रबहादुर गुरुङको सोमबार निधन भएको हो । जनता समाजवादीबाट उम्मेदवार बनेका भए पनि गुरुङ अन्तिममा पछि हटेर माओवादीलाई सघाउने निर्णयमा पुगेका थिए । तर समय गुज्रिएपछि निर्णय गरेकाले प्राविधिक रूपमा उनको उम्मेदवारी भने कायम नै थियो ।
मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरा स्थायी ठेगाना भएका गुरुङ केही समयदेखि अस्वस्थ थिए ।
स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि उनलाई बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकको सल्लाहमा थप उपचारका लागि चितवन लगिए पनि उनको निधन भएको पारिारिक स्रोतले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?