तनहुँमा थप कडाइ सहित निषेधाज्ञा भाद्र ७ गतेसम्म लम्बियो;उल्लङ्घन गर्नेलाई जरीवाना

तनहुँमा जारी निषेधाज्ञा फेरी थप गरिएको छ। कोरोना संक्रमितको संख्या बढ्‍दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लम्ब्याएको हो ।

आज आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।बरालका अनुसार अबको निषेधाज्ञा पहिलाको भन्दा कडाई गरिनेछ ।निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरीवाना गरिने उनले बताए ।‘आजको बैठकले निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गर्नेछौ’ उनले भने ।

उनका अनुसार तरकारी, फलफूल खाद्यान्न पसल बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न दिने र अन्य व्यवसायहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिने निर्णय भएको बताए ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

यस्तै खुला स्थानमा मानिसको भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइनेछैन ।

मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा मात्र गर्न भने छुट दिइएको छ । सामाजिक र सांस्कृतिक कार्यहरु विवाह, ब्रतबन्ध लगायतमा १५ जना भन्दा बढी सहभागी नहुने र सहभागीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी स्वीकृति लिएर सञ्चालन गर्न अनुमति दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?