सांसद भण्डारीले भने : सुकुम्बासी समस्याको समाधान पहिलो प्राथमिकता रहनेछ

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का सांसद शंकर भण्डारीले सुकुम्बासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

त्यसका लागि आफूले निर्वाचित भए लगत्तै सम्बन्धित निकाय झकझकाउने काम गरेको समेत बताएका छन् । तनहुँ क्षेत्र नं २ का मतदातालाई धन्यवाद दिने क्रममा सोमबार शुक्लागण्डकी नगरपालिकाको विभिन्न स्थानमा आयोजित कार्यक्रममा सांसद भण्डारीले सो कुरा बताएका थिए।

विगतमा क्षेत्र नं २ बाट निर्वाचित जनप्रतिनिधिहरुले अव्यवस्थित र सुकुम्सबासी समस्या समाधान गर्ने खासै ध्यान नदिएको समेत सांसद भण्डारीको भनाई छ । पाँच वर्ष भित्र यस क्षेत्रको अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गरेरै छाड्ने प्रतिवद्धता समेत सांसद भण्डारीले गरेका थिए ।

कांग्रेस प्रतिपक्षमा हुँदै गर्दा पनि विचलित नहुन मतदातालाई सांसद भण्डारीले आग्रह गरेका थिए ।

कांग्रेस विगतमा पनि प्रतिपक्षमा रहेको समेत सांसद भण्डारीले स्मरण गराएका थिए ।कांग्रेस प्रतिपक्षमा हुँदै गर्दा पनि काम गरेर देखाउने क्षमता आफूमा रहेको सांसद भण्डारीको भनाई थियो ।

उक्त कार्यक्रममा क्षेत्रीय सभापति चुडामणि खनाल ,शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित , क्षेत्रीय सचिव सन्तोष घिमिरे , महिला संघकी उपसभापति चन्द्रकला भट्राई र वडा सभापति ईश्वर शर्मा लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?