ऋषिङले स्वास्थ्य परीक्षण गराउँदा गर्भवतीलाई पाँच सय भत्ता

ऋषिङ :  तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरेको हो ।

 

पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

गर्भवतीले आवश्यक मात्रामा गर्भ परीक्षण नगराउँदा सुत्केरी हुने समयमा समस्या हुनसक्ने भएकाले जटिल समस्याबाट जोगाउन यस्तो निर्णय गरेर सहज बनाउने प्रयासमा रहेको उहाँले बताए ।

निर्णय सर्वसम्मत पारित भइसकेकाले अब तत्काल कार्यान्वयनमा लगिने उनको भनाई छ ।

यसका साथै गर्भवतीलाई सुत्केरी हुने समयमा अस्पतालसम्म पुर्याउन र घरसम्म ल्याउन आवश्यक परेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय पारित भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?