
घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका स्थानीय तहलाई बार अनुसार सेवा दिने भएको छ ।कोभिड–१९को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्याधिक बढेपछि घरेलु कार्यालयले सेवा प्रदान गर्ने बार विभाजन गरेको हो ।
भदौ ९ गते बुधबारदेखि अर्को सूचना नहुदाँसम्मको लागि स्थानीय तहगत रुपमा फरक फरक दिनमा सेवा प्रदान गर्न लागेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आइतबार र बुधबार शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकाका स्थानीयले सेवा पाउनेछन् ।सोमबार र बिहीबार व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका स्थानीयलाई सेवा दिइने छ ।मंगलबार र शुक्रबार भने भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाका स्थानीयले सेवा लिन पाउने गरि तालिका सार्वजनिक गरेको छ ।
यस्तै सदरमुकामबाट टाढा पर्ने र सेवाग्राही पनि न्यून हुने भएकाले ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकाका स्थानीयले जुनसुकै बारमा पनि सेवा पाउने कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?