आदिकविमा सप्ताहव्यापी खेलकुदको रौनक

दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँ स्थित विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा बुधवारदेखि अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । खेलकुदमा करिब साढे २ सय विद्यार्थीको सहभागिता हुने भएकाले क्याम्पस परिसरमा छुट्टै रौनिक देखिएको छ ।

सामुदायिक क्याम्पस अन्तर्गत देशकै उत्कृष्ट क्याम्पसको  रुपमा परिचित क्याम्पसले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई निरन्तरता दिएको हो ।

प्रतियोगिता उद्घाटन गर्दै पुर्व क्याम्पस प्रमुख एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटा कलेजले यति ठुलो प्रतियागिताको आयोजना गर्नु प्रशंसनीय कार्य भएको जनाएको थियो ।

यस्तै, निमित्त क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले विद्यार्थीहरु भोलीको दिनमा विभिन्न क्षेत्र पुग्नेछन् भन्दै खेलकुदबाट पनि देशको शिर उँचो राख्न सकिने बताएका थिए ।

क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक तिल बहादुर थापाका अनुसार सप्ताहव्यापी प्रतियोगितामा अन्तरसंकाय फुटबल छात्र तर्फ २६ टिम,  भलिबल छात्र तर्फ १२ टिम,  भलिबल छात्रा तर्फ ९ टिम ,डबल व्याडमिन्टन छात्र तर्फ २८ टिम, डबल व्याडमिन्टन छात्रा तर्फ १४ टिम , डबल टेबुल टेनिस छात्र तर्फ २८ टिम, डोरी तान्ने छात्रा तर्फ १० टिम, घैटो फुटाउनेमा ३९ जना, म्युजिल चियर ३७ जना सहभागी रहेको छ ।

यस्तै क्याम्पसले प्राध्यापक र कर्मचारीहरु बिच ‘मैत्रीपूर्ण भोलिबल र घैटो फुटाउने प्रतियोगिता समेत आयोजना गरेको छ ।

खेलकुद मेजर प्रतियोगितामा विजेताहरुले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पाउने छन् । प्रतियोगिता १५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?