कालिमाटी कुन्छा मोटरमार्ग मर्मतका लागि स्थानीयद्धारा ७ दिने अल्टिमेटम् (भिडियो सहित)

तनहुँ स्थित कालिमाटी कुन्छा मोटरमार्ग मर्मतका लागि स्थानीयले नगरपालिकामा विहिबार ७ दिने अल्टिमेटम दिएका छन् । गत असार १ गते र त्यसपछि असार १८ गते परेको वर्षाका कारण सडक क्षत विक्षत भै मोटरसाईकल, एम्बुलेन्स, जीप, बस, लगाएतका कुनै पनि सवारी साधन चल्न सक्ने अवस्था रहेको भन्दै भानु नपा वडा नं. १० र ११ का स्थानीयहरु  भानु नगरपालिकामा डेलिगेशन आएका हुन् ।
कालिमाटी दुधेकुना हुँदै कुन्छा जोड्ने सडकको करिब साँढे २ महिना बितिसक्दा पनि स्थानीय तहले चासो नदिएकाले विरामीलाई समेत स्ट्रेचरमा बोक्नु पर्ने बाध्यता आईपरेको स्थानीय समाजसेवी विष्णु प्रसाद पोखे्रलले गुनासो गरे  । “ सडक मर्मतका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्दा स्थानीय तहमै निवेदन दिन भनेपछि मर्मतका लागि निवेदन दिन आएका हौं । करिब २५ वर्ष अगाडि काँग्रेस नेता पूर्व मन्त्री गोबिन्दराज जोशीको पहलमा सडक खोलिएको भए पनि अहिले सम्म स्तर उन्नती हुन नसक्नु दुखद भएको भन्दै आगामी साता सम्म पनि मर्मतको काम सुरु नभए स्थानीय चुप लागेर बस्दैनौं” उनले भने ।
तनहुँकै एक महत्वपूर्ण सडक भएर पनि उपेक्षा गरिनु जनताको अधिकार माथिको खेलवाड भएको भन्दै सडक मर्मतको काममा नगरपालिकालाई साथ दिन स्थानीय तयार रहेको स्थानीय बुद्धिजिबी रामकृष्ण ढकालले बताए ।
गुनासो लिएका आएका स्थानीयलाई सान्त्वना दिंदै नगरपालिकाका मेयर उदयराज गौलीले तत्काल मर्मतका लागि ढुँगा, गिटी, ग्राभेलको आवश्यक पर्ने भएकाले उक्त ब्यवस्थापनका लागि जिल्ला समन्वय समितिमा छलफल गरी समाधान गरिने जानकारी दिँदै मौषमले साथ दिएमा २-३ दिन भित्रै काम शुरु हुने बताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमनिधि तिवारीले आँफू सहित प्राविधिकको टोली सुक्रबार नै उक्त सडकको अवलोकनका लागि जाने र तत्काल नपाले गर्न सक्ने कार्य गरी एम्बुलेन्स चल्न सक्ने बनाईने प्रतिबद्धता ब्यक्त गरे ।
भानु नगरपालिकाका मेयर उदयराज गाैलीसंग गरेको कुराकानी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?