छाडा चौपायालाई व्यवस्थित गर्न गौ संरक्षण केन्द्र संचालनमा

दमौली : तनहुँको व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको शिवालय गौ संरक्षण केन्द्र सन्चालनमा ल्याएको छ ।

छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिने लगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको निवर्तमान वडाध्यक्ष एवं केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए।

करिव २०० सय रोपनीमा ०७२ साल देखि संचालन गरेको केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् । मानिसले गाईले दूध दिँदासम्म पाल्ने र त्यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको थियो ।

नगरपालिका क्षेत्रको कुहिने फोहोर र गाईबस्तुको मलमूत्र सङ्कलन गरी केन्द्रमा निर्माण गरिएको करिब ६० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट ग्याँस उत्पादन वृद्धि भएको जनाएको छ  ।

त्यसको लागि दैनिक १५ भारी पराल जुटाउनुपरेको छ । खर्च व्यवस्थापनका लागि नगरपालिका बजेट विनियोजन गर्दै आएको छ । तर चौपाया बढी भएका कारण नगरपालिकाको बजेटले मात्रै धान्न गाह्रो भएको जनाइएको छ ।

चौपायको रेखदेखको लागि नगरपालिकाले तीन जना हेरालुको समेत व्यवस्था गरेको छ ।

गाईको मलमूत्रबाट के के बन्न सक्छ, कस्ता कस्ता औषधि बन्न सक्छन् र अर्गानिक अन्नबालीमा कत्तिको लाभदायिक हुन्छन् भन्ने विषयमा अध्ययन अनुसन्धान गरिने छ ।

स्थानीय जातको गाईको संरक्षण गर्दै धार्मिक र पौराणिक मान्यतअनुसार पुरोहित राखेर अनुसन्धान कार्य अघि बढाउन लागिएको व्यास -४ का वडासदस्य एवं गौ संरक्षण केन्द्रका अभियन्ता सरोज भण्डारीले बताए  ।

नगरपालिकाले खर्च व्यवस्थानका लागि १० लाख रुपैंयाँ छुट्याइएको उपप्रमुख इन्दिरा दरैले बताए । केन्द्रका लागि प्रदेश सरकारले  २५ लाख ५० हजार बिनियोजन गरेको जनाएको छ ।

केन्द्रका सचिव श्रीकृष्ण आचार्यका २ करोड २४ लाख रुपियाँ गुरुयोजना तयारी भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?