राष्ट्रिय सभा सदस्य एमाले नेता कुमार दसौदी निर्वाचित

दाङ : राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन् ।

सत्ता साझेदार दलको तर्फबाट एमालेका दसौदीले मनोनयन दर्ता गरेका थिए । दसौदीले चार हजार २६ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसका माधव आचार्यले तीन हजार ७२० मत प्राप्त गरे । यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ तीन मत बदर भएको छ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचन भएको हो । निर्वाचनमा ३०५ जना मतदाता थिए । जसमा ३०४ मत खसेको थियो ।

निर्वाचित भएका दसौदी रोल्पा रुन्टीगढी– ५ निवासी हुन् । मनोनयन दर्ता दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ थिए ।

नागरिक उन्मुक्तिबाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आएका राजेन्द्रवीर राय उम्मेदवार बनेका थिए । रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी थिए ।

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्दा उनको प्रस्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?