काठमाडौं : एकातर्फ अर्बपति एलन मस्क सन् २०५० सम्म मानिसलाई पृथ्वीजस्तै अर्को ग्रहमा पनि बसाउनका लागि काम गरिरहेका छन्। उनले आगामी केही वर्षमै मंगल ग्रहमा मानिस पठाउने तयारीसमेत गरिरहेका छन्।
अर्कोतर्फ पर्यावरणविद्ले जलवायु परिवर्तनका कारण पृथ्वी बस्न लायक नरहने चेतावनी दिँदै आएका छन्। बढ्दो वैश्विक तापक्रम, पग्लिँदो हिउँ, बढ्दो जलसतह र डढेलोका कारण पृथ्वी मानिसका लागि असुरक्षित बन्दै गएको छ। केही सय वर्षमा नै पृथ्वी बस्न लायक नरहने चेतावनी पनि वैज्ञानिकहरुले दिँदै आएका छन्।
यस्तोमा यता खगोलविद्हरु भने पृथ्वीबाहिर मानव जिवनको सम्भावनाबारे खोज गरिरहेका छन्। के अब केही सय वर्षसम्म पनि पृथ्वीमा जीवन कायम रहला त? भन्ने प्रश्न सबैतिर छ। अहिले नै यो प्रश्नको उत्तर नपाए पनि पृथ्वीको पछिल्लो अवस्था हेर्दा सहजै अनुमान लगाउन सकिन्छ कि अब पृथ्वी जिवनका लागि असुरक्षित बन्दै गएको छ।
सोही कारण पनि अहिले अमेरिका अन्तरीक्ष एजेन्सी नासा लगायतका अन्तरीक्षसम्बन्धी खोज गरिरहेका कम्पनीहरुले बाहिर पनि जीवनको खोजी गरिरहेका छन्। सबैभन्दा पहिलो प्राथमिकता त उनीहरुले बस्न लायक ग्रहको खोजी गरिरहेका छन्।
हालै एक यस्तै ग्रह फेला परेको छ। जहाँ जिवनको सम्भावनाबारे सकारात्मक संकेत फेला परेको नासाले बताएको छ। नासाका वैज्ञानिकहरुले पृथ्वीसँग ९५ प्रतिशतसम्म आकार मिल्ने एक्जोप्लानेट फेला परेको घोषणा गरेका छन्। जसको सतह पनि पृथ्वीजस्तै चट्टानी रहेको छ।
टीओआई–७००ई नाम दिइएको यो ग्रह आफ्नो ताराको गोल्डीलक्स जोनमा अवस्थित छ। पानी तरल अवस्थामा रहने दूरीलाई गोल्डीलक्स जोन भनिन्छ। नासाको एक रिपोर्ट अनुसार यसको सतहमा पानी हुनसक्छ।
यसअघि नासाले टीओई–७०० बी, टीओई–७००सी र टीओई–७०० डी को खोजी गरेको थियो। टीओई–७००ई जस्तै टीओई–७०० डीले पनि आफ्नो होस्ट स्टारको ह्याविटेवल जोजनमै रहेर परिक्रमा गर्दछ।
टीईएसएस अवलोकनको एक वर्षपछि मात्र ई ग्रहको पनि खोजी भएको पत्ता लागेको थियो। जो डी ग्रहभन्दा आकारमा करिब १० प्रतिशत सानो छ। अनुसन्धानको नेतृत्व गरेका नासाका जेट प्रोपल्सन ल्याब्रोटरीका पोस्टडक्टोरेल फेलो एमिली गिल्बर्टले पत्ता लागेकामध्ये दुईवटा ग्रह जिवन रहन योग्य क्षेत्रमा परिक्रमा गर्ने गरेको जानकारी दिए।
नासाका अनुसार टीओआई–७०० ग्रह पृथ्वीभन्दा करिब एक सय प्रकाश वर्षको दूरीमा रहेको छ। नासाले छिट्टै यसको सौर्यमण्डल र ग्रहको भौगोलिक तथा वातावरणीय अवस्थितिबारे जानकारी दिने बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?