नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं : नुवाकोट चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको बट्टारबाट दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४४५ नम्बरको बस विदुर नगरपालिका, चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।

बसमा सवार २० जना घाइते छन्। उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ।

डिएसपी खड्काका अनुसार बस सडकबाट २० फिट तल खसेको छ। प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ।

स्थानीयले सामाजिक सञ्जालमा राखेको तस्बिर तथा भिडियाेमा दुई जनाकाे शव देखिएको छ। घटनालगत्तै स्थानीयले उद्धारको कार्य थालेर प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?