दमौली : राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रोट्याक्ट क्लब अफ दमौलीले आइतबार आयोजना गरेको २० औं स्व. सचिन स्मृतिमा दमौलीमा खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जितेका छन्।
व्यास नगरपालिका–३ दमौलीको अनसन चौतारी देखि व्यास नगरपालिका–१४ छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट ३० सेकेन्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् ।
प्रतियोगितामा आँबुखैरेनी-१का सनम गुरुङ द्वितीय भएका छन् । उनले उक्त दूरी ३० मिनेट १० सेकेन्डमा पार गरेका छन् । यस्तै ललितपुर -४ का ब्रिकेश घिमिरे तृतीय भएका छन् । उनले उक्त दूरी ३० मिनेट ४२ सेकेन्डमा पार गरेका छन् ।
खुल्ला दौडमा प्रथम हुनेलाई रु १४ हजार , द्वितीय हुनेलाई रु १२ हजार , तृतीय हुनेलाई १० हजार नगद प्रदान गरिने कार्यक्रम संयोजक उमेश पौडेलले जानकारी दिए ।
यसैगरी भानु -१२ का अनिल माजकोटी, ऋषिङ – ६ की सुस्मिता रानाभाट ,व्यास -१ का कृतिक घर्ती सान्त्वना भएका छन् । उनीहरुलाई जनही रु २ हजार प्रदान गरिएको छ ।
प्रतियोगितामा ८८ धावकको सहभागिता रहेको थियो ।
दमौलीको अनसन चौतारीबाट शुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर सकिएको थियो ।
भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।
दौडले छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबर्धनका लागि पनि सहयोग पुग्ने उनले बताए ।विगतका वर्षभन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको क्लबले जनाएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?