प्रहरीमा को–को छन् आईजीपीको प्रतिस्पर्धामा ?

काठमाडौं : नेपाल प्रहरीमा चार एआईजीको दरबन्दी रिक्त छ । तर, बढुवा प्रक्रिया अगाडि बढाइएको छैन ।

बढुवाका लागि गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो दिएका छैनन् । आईजीपी धीरजप्रताप सिंहले पनि सक्रियता नदेखाएको डीआईजीहरूको गुनासो छ । सरकारको नेतृत्व गर्ने पार्टीले आफूअनुकूल पात्रलाई आईजीपी नियुक्त गर्ने गरिएको छ ।

प्रहरी नियमावलीमा तीन महिनाभन्दा बढी समय पद रिक्त गर्न नहुने व्यवस्था छ । तर, गएको साउनदेखि एआईजी दरबन्दी रिक्त छ । अहिलेका डीआईजीमध्ये एआईजी हुने ब्याचका अधिकारीले नै आउँदो चैतमा प्रहरीको ‘कमान्ड’ सम्हाल्नेछन् ।

हालका आईजीपी सिंहका ब्याची एआईजी विश्वराज पोखरेलले गएको साउनमै अवकाश पाएका थिए । यस्तै, मुकुन्द आचार्य, अरुण बिसी र रवीन्द्रबहादुर धानुकले उमेरहदका कारण अवकाश पाइसकेका छन् । उनीहरूको स्थानमा अरूलाई बढुवा गरिएको छैन ।

आईजीपीकै ब्याचका डीआईजीत्रय नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँ बढुवा हुने क्रममा छन् । एआईजीको दरबन्दी खाली हुँदा समेत बढुवा नगरिएको प्रति उनीहरूले गुनासो गर्दै आएका छन् ।

बहालवाला एआईजी पूजा सिंहले यही फागुनमा अवकाश पाउनेछन् । एआईजी सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले आउँदो चैत १२ मा आईजीपी सिंहसँगै अवकाश पाउनेछन् ।

जनपदतर्फ २० डीआईजीको दरबन्दी छ । सबै डीआईजीहरू एआईजी बन्ने दौडमा छन् । आईजीपीका ब्याची डीआईजी बने पनि उनीहरूले आईजीपी सिंहसँगै अवकाश पाउनेछन् । यस्तोमा जुनियर ब्याचका डीआईजी एआईजी बने चैतमा आईजीपी बन्ने सम्भावना बलियो हुनेछ ।

प्रहरीभित्र ३० वर्षे सेवा हद हटाइने चर्चा छ । यस्तो भएमा हालकै आईजीपी सिंहको कार्यकाल लम्बिनेछ ।

अहिलेकै अवस्था कायम रहेमा डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ र किरण राणामध्येबाट एकजना आईजीपी बन्नेछन् ।

तर, चैत १२ सम्म पनि एआईजीमा बढुवा नभए डीआईजीबाटै एकजना आईजीपी बन्नेछन् । प्रहरीभित्रै एक समूह तत्काल एआईजी बढुवा गर्नुपर्ने ‘लबिङ’मा छ । अर्को समूह तत्काल रोक्नुपर्ने लबिङमा छ ।

बढुवाका लागि विभिन्न शक्तिकेन्द्रको चासो र दबाब समेत हुने गरेको छ । त्यसैले सबै डीआईजीहरू पहिलो ‘लट’मै एआईजी बन्न लागिपरेका छन् । शक्तिकेन्द्र र सत्तारूढ दलका नेताका घरमा समेत डीआईजीहरू दौडधुपमा सक्रिय रहेको बताइन्छ ।

बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?