बुटवल–पाल्पा सडकखण्ड १५ दिनसम्म दैनिक ८ घण्टा बन्द हुने

बुटवल : बुटवल–पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो ।

सुरुङमार्ग पूर्वतयारीका लागि वैकल्पिक सडक व्यवस्थापन गरेर बिहान ११ बजेदेखि २ बजेसम्म र रातिको समयमा १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने उनले बताए । आकस्मिक रूपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनहरूका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नती गरेर मात्र राजमार्ग बन्द गर्न दिइने उनको भनाइ छ ।

आयोजना प्रमुख होमबहादुर एसीका अनुसार सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तत्काल सडकमा स्तरउन्नति गर्ने सहमति भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?