शुक्लागण्डकी महोत्सव १८ गतेदेखि हुने

दमौली : ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, शुक्लागण्डकी महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ शुक्लागण्डकी महोत्सव २०७९ हुने भएको छ ।

शनिबार पत्रकार सम्मेलन गरी शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ तथा शुक्लागण्डकी नगरपालिकाको आयोजनामा फागुन १८ गतेदेखि २९ गतेसम्म महोत्सव हुने महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकामा रहेका होमस्टेको रुपमा विकास भइरहेको दगाम भुजिकोट, कालिभञ्ज्याङ फिरफिरे, लामागाउँ घरेडी गाउँको प्रवद्र्धन गरी दीर्घकालीन पर्यटनलाई सहयोग पु¥याउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमालले बताए ।

त्यस्तैगरी यस क्षेत्रबाट उत्पादित सामग्रीको पहिचान गरी घरेलु तथा कृषि उत्पादनको बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, लगानीकर्ता, बैंक र उद्यमी व्यवसायी एवं सर्वसाधारण बीचको सम्बन्ध विस्तार हुने रिमालले बताए ।

सांस्कृतिक झाँकी प्रदर्शनी, दगाम भुजिकोट डाँडाको अवलोकन, मिलेनियम ट्रेक, धार्मिक एवं ऐतिहासिक स्थलको अवलोकन, रक गार्डेन, नृत्य प्रतियोगिता, लोक गायन प्रतियोगिता, रत्यौली प्रतियोगिता, सांगितिक कार्यक्रम, भलिबल प्रतियोगिता, दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रदर्शनी, विभिन्न जातीय खानाका परिकार, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक स्थलको पदयात्रा, राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने बताइएको छ ।

महोत्सवमा विभिन्न २३५ स्टल रहने निर्देशक श्रेष्ठले बताए । उनका अनुसार  ६९ लाख ९० हजार खर्च हुने  अनुमानित बजेट तय गरिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?