दमौली : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन लागि व्यास नगरपालिका -१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा ७ वाट संगठन दर्ता भएको छ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आउँदो चैत ५ गते गर्न लागेको स्ववियुको लागि ७ वाट संगठन दर्ता भएको हो ।
क्याम्पसका निर्वाचन प्रवन्ध समितिका संयोजक विजय खनालका अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा एकिकृत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा विप्लप निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र स्वतन्त्र रूपमा स्वतन्त्र विद्यार्थी समुह दर्ता भएका छन् ।
फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिकामा उल्लेख छ । २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन गरिनेछ । सोही दिनको साँझ ५ बजेसम्ममा प्रत्यक्षतर्फका उमेदवारको नामावली प्रकाशन गर्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।
फागुन २८ गते बिहान ११ देखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उमेदवारमाथि दाबी विरोधको समय छ । सोही दिन दाबी विरोधमाथि छलफलपछि अन्तिम नामावली प्रकाशन गरिनेछ ।
प्रत्यक्षतर्फ उमेदवारी दिएकाले २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय तोकिएको छ । सोही दिन दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ ।
चैत ५ गते बिहान ८ बजेदेखि त्रिविका देशभरका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले आज दिउँसो ३ बजेभित्र दर्ता गर्नुपर्नेछ । फागुन २१ गते मतदाता नामावली प्रकाशन हुनेछ भने नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइनेछ । दाबी विरोधमाथि छानबिन गरेर सोही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?