सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन तनहुँको प्रहरीको आग्रह

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गरेको छ । भोलि फागुन २२ गते पहाडि भेग र पर्सी फागुन २३ गते तराई भेगमा होली पर्व मनाइँदै छ ।

होलीको समयमा विगतका वर्षमा विभिन्न घटनाहरु भइरहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो ।

होलीको नाममा कुनै अप्रिय र उश्रृङ्खल गतिविधि हुन नदिन प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिए ।

कसैको इच्छा विपरित रङ, लोला, मोबिल, मोसो, अण्डा, केमिकल र फोहोर पानी नछ्याप्न आग्रह गरिएको उनले बताए । त्यस्तै, महंगा गरगहना लगाएर होली नखेल्न, अपरिचित मानिसले दिएको खानेकुरा नखान, मादक पदार्थ सेवन नगरी ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई कुनै किसिमको दुर्व्यवहार नगर्न, रेलिङ नभएको घरको छत र सडकमा होली नखेल्न र भिडभाड हुने स्थानमा पकेटमार तथा लुटपाटका घटनाका सम्भावना हुने भएकाले सावधानी अपनाउन चितवन प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?