तेस्रो महिला हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबकी न्यौपानेलाई

दमौली :  अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाले बुधवार आयोजना गरेको  ‘ तेस्रो महिला खुल्ला हाफ म्याराथन’  उपाधि त्रिभुवन आर्मी क्लबकी २८ वर्षीय पूर्ण लक्ष्मी न्यौपानेले जितेकी छिन्।

 

व्यास नगरपालिका–३ व्यास गुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरदरवार २१ किमि दूरी एक घण्टा ४७ मिनेट ५१ सेकेन्डमा पार गर्दै न्यौपानेले उपाधि जितेका हुन् ।

प्रतियोगितामा सोलुखुम्बुकी अनिता राई द्वितीय भएका छन् । उनले उक्त दूरी एक घण्टा ५२ मिनेट २४ सेकेन्डमा पार गरेका छन् । यस्तै जुम्लाकी विश्वरुपा बुढा मगर तृतीय भएकी छिन् । उनले उक्त दूरी एक घण्टा ५७ मिनेट ३३ सेकेन्डमा पार गरेकी छिन् ।

म्याराथनमा प्रथम हुनेलाई ४१ हजार ७९ , द्वितीय हुनेलाई  ३१ हजार ७९ , तृतीय हुनेलाई २१ हजार ७९ नगद प्रदान गरिने व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

यसैगरी गुल्मीकी गीता बिक, गोरखाकी अमृता गुरुङ र नवपरासीकी सीमा चौधरी सान्त्वना भएकी छिन् । उनीहरुलाई जनही ११ हजार ७९ प्रदान गरिएको छ ।

प्रतियोगितामा चार जना बिदेशी सहित ६४ धावकको सहभागिता रहेको थियो ।

व्यास गुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारमा पुगेर सकिएको थियो ।

तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसरमा राज्य सञ्चालन गरेको इतिहास छ ।

उक्त दुई स्थानलाई जोड्दै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गरी आर्थिकरुपमा सबल बनाउने लक्ष्यका साथ बिगत तीन वर्षदेखि म्याराथन हुँदै आएको छ । उक्त स्थानमा अझै पनि तत्कालीन अवस्थामा प्रयोग गरिएका तोप लगायतका हातहतियार र सेनवंशीय राजदरबार जीर्ण भएर भत्किएको अवस्थामा छन् ।

नगरपालिकाको पर्यटकीय क्षेत्र, विभिन्न जातका होमस्टे, जातीय संस्कृति तथा परम्परागत स्वागत सत्कारको लगायत प्रचार प्रसार र प्रवर्द्धनका लागि भन्दै विगत केहि समय देखि म्याराथन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?