सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने भएको छ । देशभरिका ५ लाख घर परिवारलाई असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ ।
संसदमा प्रतिपक्षी एमालेको चर्को विरोधको सामना गर्दै अर्थमन्त्री शर्माले १९ पृष्ठ लामो ७७ बुँदे प्रतिस्थापन विधेयक बाचन गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरे ।
‘कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरीब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार रु १० हजारका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्न लागेको हो ।
यो अनुदान असोजभित्रै प्रदान गरिने आश्वासन दिँदै शार्माले भने, ‘यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा सम्मत २०७८ असोज महिनाभित्र हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरेको छु । अर्थमन्त्री शर्माले मिर्गौला, क्यान्सर र मेरुदण्डका बिरामीहरुलाई सरकारले मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने घोषणा गरेका छन् । शर्माले विधेयक पढ्दै भने, ‘मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक रु. ५ हजारका दरले उपलब्ध गराइने व्यवस्था मिलाएको बताएका छन् । सरकारले केही नाराहरू पनि अघि सारेको छ । जस्तै– १२ कक्षाका विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ घोषणा गरिएको छ भने महिलाहरुका लागि ‘महिला पहिला कार्यक्रम’ ल्याइने अर्थमन्त्री शर्माले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?