
दमौली : नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँले ‘व्यास कोशेली घर’ सञ्चालनमा ल्याएको छ। स्थानीय उत्पादनको संवर्द्धन र बजारीकरण गर्ने उदेश्यले महिला उद्यमीले सोमवार देखि कोसेली घर सञ्चालनमा ल्याएको हो।
कोसेली घरको उदघाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शन्तिरमण वाग्लेले कोसेली घरको थालेपछि तनहुँको स्थानीयहरूले उत्पादन गरेका कृषिजन्य उत्पादनहरूको बजारीकरण टेवा पुर्याउन बताए। यस्तो महिलाहरुले सुरु गरेको काम अनुकरणीय रहेको जनाएको छ।
उनले राज्यको तर्फबाट धेरै रकम खर्च गरे पनि लगानी अनुरूपको परिमाण प्राप्त गर्न नसकेको बताए ।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले कोसेली घरमा नगरपालिकाको तर्फबाट सदैव सहयोग रहने बताए ।
कोशेली घरमा तनहुँका १० वटै पालिकाका स्थानीय उत्पादनलाई प्राथमिकताका साथ राखिएको महिला उद्यमी समितिका अध्यक्ष कल्पना गौलीले जानकारी दिइन्।
यहाँ हातले बुनेका स्वीटरलगायत, तानमा निर्मित कपडा, ग सिलाइएका कपडाहरु, चुरापोते लगायतका श्रृंगारिक गरगहना, मास, अदुवा हालेदी, बेसार, गुडियालगायत विभिन्न प्रकारका दैनिक उपयोगी तथा सजावटका सामाग्री राखिएका छन्।
स्थानीयले सामूहिक वा ब्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको प्रयोगगरी उत्पादित सामाग्री यहाँ राखेर बिक्री बितरण गर्न सक्नेछन्। पालिकाले पनि उद्यमशीलतालाई प्रवर्द्धन गर्ने आवश्यकता अनुरुपका तालिम तथा आर्थिक सहयोग गर्दे आएको जनाएको छ।
अधिकांश शिसाको प्रयोगबाट बनाईएका कोसेली घरमा राखिएका ती सामाग्रीमा उत्पादन गर्ने ब्यक्तिको नाम, सम्पर्क नं. र वस्तुको मुल्यसूचिसमेत उल्लेख गरिएको छ।
यहाँ राखिएका सामग्रीहरुको अध्ययन अवलोकन गर्ने र देखासिखी गर्नेहरुका संख्या दिनप्रतिदिन बढेको छ। अवलोकनकर्ताले मन परेका सामग्रीहरु किन्न सक्ने र उद्यमीले उत्पादित सामाग्री यहाँ राखेर बिक्री गर्न सकिने जनाएको छ।
उक्त कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय तनहुँका अविनाश कुँवर,महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभर गुरुङ, कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारी लगायत स्थानीय तह जनप्रतिनिधिहरूको उपस्थित रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?