थानीमाई मन्दिरमा नेपाली सेनाकाे फूलकाे डाेली समेत गरी १५ डाेली भित्रियाे

दमौली : तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरमा मंगलबार नेपाली सेनाकाे फूलकाे डाेली समेत गरि १५ डोली फूल भित्रिएको छ ।

फागुन महिनाको अन्तिम मंगलबार मन्दिरमा भक्तजनहरुले फूलको डोली लिएर गएका हुन् ।

तनहुँसहित लमजुङ, गोरखा, कास्की, चितवनलगायतका जिल्लाबाट आएका भक्तजनले बाजागाजासहित फूलको डोली भित्र्याउनुका साथै १ हजार पाँच सयकाे हाराहारीमा भक्तजनहरुले पूजाअर्चना गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले बताए ।

विशेष गरी कात्तिक, मंसिर ,माघ र फमगुन महिनामा यहाँ भक्तजनहरु फूलको डोली चढाउन पुग्नुका साथै दर्शनका लागि भक्तजनहरु जाने गर्दछन् । यस्तै, मन्दिरमा सोमबार राति ३१ जना भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेको समितिले जनाएको छ ।
यसैबीच तनहुँकाे भानु १ भन्सार हात्तीचाैरमा रहेकाे नेपाली सेनाकाे रुरु भैरब दल गणले पनि थानीमाई मन्दिरमा फूलकाे डाेली चढाएकाे छ । गण हाता भित्र साेमबार सत्यनारायणकाे पूजा गरि मंगलबार फूलकाे डाेली थानीमाई मन्दिरमा चढाईएकाे हाे ।

स्थानीय ठाउँमा प्रशिद्द धार्मिक एवं एतिहासिक महत्व बाेकेकाे मन्दिरमा गणका सैनिकहरु सहभागी नाैमती पञ्चैबाजा सहित फूलकाे डाेली चढाईएकाे गणका गणपति प्रमुख सेनानी हिमाचल जङ शाहले जानकारी दिनुभयाे । धार्मिक भावनाले मानिसमा अनुशासनकाे पनि पाठ सिकाउने हुँदा सेनामा पेशागत कार्य संग-सँगै यस्ता कार्यहरु पनि बेलाबखत गरिँदै आएकाे उनले बताए ।
दुख्ख कष्ट पर्दा तथा मनोकांक्षा पुरा होस् भनि भाकल गरी पुरा भएपछि भक्तजनहरुले मन्दिरमा फूलको डोली चढाउने गर्दछन ्।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रही आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँशी बाहेकका दिनमा पूजाअर्चना गर्ने गरिन्छ । भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँ बाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ ।

विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीयबासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भिक्षु आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्तरध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?