रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको दिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। उक्त पार्टीको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

रास्वपाकी सांसद सोबिता गौतमले पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकी बताइन्।

‘जुन न्यूनमत साझा कार्यक्रम छ। त्यसमा हाम्रो वाचापत्रमा भएका धेरै विषय छन्। त्यसलाई नीति तथा कार्यक्रममा राखिन्छ भने समर्थन दिने निर्णयमा पुग्यौँ,’ उनले भनिन्, ‘यसको अर्थ अहिले सरकारलाई समर्थन जारी छ।’

रास्वपा गत पुसमै सरकारमा सहभागी भएको थियो। तर सर्वोच्च अदालतको एक फैसलापछि सो पार्टीका सभापति समेत रहेका रवि लामिछानेले मन्त्री पद गुमाएका थिए। पछि पार्टीका अन्य मन्त्री पनि बाहिरिएका थिए। रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको थियो।

प्रधानमन्त्री प्रचण्डले भने दोस्रोपटक सोमबार विश्वासको मत लिँदै छन्। यसअघि पुस २६ गते विश्वासको मत लिँदा संसद्को करिब सबै मत पाएका प्रचण्डले एमाले र राप्रपाले सरकारबाट बाहिरिने निर्णय लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?