
दमौली : तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय केन्द्रमा श्वासप्रश्वास सेवा सुरु भएको छ । मंगलबार पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसर पारेर अस्पतालले श्वासप्रश्वास सेवा सुरु गरेको हो ।
अस्पताल संचालक समितिका सदस्य शेष मणि आचार्यलाई सेवा दिदै श्वासप्रश्वास विशेषज्ञ डा. शैलेश गुरुङले सुरु गरेका हुन् । उपचार सदस्य आचार्यले श्वासप्रश्वाससम्बन्धी उपचार अब देशैभरका सेवाग्राहीले सेवा लिन पाउने भएको बताए ।
हालसम्म जनरल अस्पतालको रुपमा सेवा दिँदै आएको र यस केन्द्रको मुख्य उद्धेश्यबमोजिम श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सेवा सुचारु गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।
सामान्य र जटिल श्वासप्रश्वास सम्बन्धी उपचारका लागि पोखरा, चितवन र काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका निर्देशक श्रेष्ठले बताए।
उपचार केन्द्रमा श्वासप्रश्वास सेवाका लागि फोक्सो जाँच गर्ने उपकरण उपलब्ध छ भने बाँकी आवश्यक उपकरण विस्तारै थप गर्दै लैजाने कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । “भएका उपकरणमार्फत् सेवा दिने र बाँकी उपकरण विस्तारै थपिदै जाने नीति छ,” श्रेष्ठले भने ।
भिमाद नगरपालिका -६ का स्थानीय धनु माया रानाले जिल्लामै यसरी श्वासप्रश्वास सम्बन्धी र अन्य उपचारका पाउँदा खुसी व्यक्त गरे ।
श्वासप्रश्वास सेवाका लागि अस्पतालमा एक जना विशेषज्ञ सहित तीन जना चिकित्सक, तीन जना स्टाफ नर्स र एक जना जनस्वास्थ्य निरीक्षकको व्यवस्था गरिएको छ । श्वासप्रश्वास सम्बन्धी हप्ताको सोमवार/बिहिवार मेजर उपचार र अन्य दिनमा भने नर्मल उपचार हुने अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल श्वासप्रश्वास सम्बन्धी ओपीजी , जनरल ओपीजी , हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा , इन्टरनल मेडिसिन सम्बन्धी सेवा, फार्मेसी सेवा, जनरल सर्जरी , स्त्री तथा प्रसुती सम्बन्धी, बालरोग, आइसीयु, आकस्मिक सेवा, अन्तरङ्ग सेवा , मेजर/ माइनर अप्रेशन, इसिजी सेवा , प्रयोगशाल, भिडियो एक्स-रे . सुरक्षित गर्भपतन सेवा, स्वास्थ्य बीमा, आँखा सम्बन्धी, पीएफटि सेवा, इकोकार्डीयोग्रफी आदि सेवा प्रदान गर्दै आइरहेको छ ।
७७ जना कर्मचारी रहेको अस्पतालमा दैनिक करिव ३ सय भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?