
काठमाडौं : दैलेखमा ग्यास सिलिन्डर बोकेको एउटा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । भे१ख २२०१ नम्बरको ट्रक दुर्घटना भएको हो ।
बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए ।
ट्रकमा सवार चारमध्ये तीनजनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । ट्रक सडकदेखि अन्दाजी १५० मिटर तल अर्को सडकमा खसेको उनले जानकारी दिए । उनका अनुसार ट्रकमा चारजना सवार थिए ।
सडकमा ‘साइड’ लगाएर ओट लगाउने क्रममा ट्रक पल्टिएको उनले बताए । दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु भएको र सहचालक सकुशल रहेको उनले जानकारी दिए ।
“सहचालक ट्रकबाट ओर्लिएर ओट लगाउन खोज्दाखोज्दै ट्रक खसेको रहेछ,” उनले बाह्रखरीसित भने, “तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरी घटनास्थलमा पुगिसकेको छ ।”
उनका अनुसार चालक बाँकेका ३० वर्षीय कृष्ण चौधरी र कामदारहरू लक्ष्यीराम चौधरी र विष्णु चौधरीको मृत्यु भएको खुलेको छ । उनीहरूको ठेगाना खुल्न बाँकी छ ।
डीएसपी लम्सालका अनुसार ट्रकमा खाना पकाउने ग्यास भरिएका सिलिन्डर थिए । दुर्घटनापछि सिलिन्डर सडकमा छरिएका छन् । तर, जोखिम नरहेको उनले बताए ।
“एक/दुईवटा सिलिन्डर ‘लिक’ भएको भन्ने छ । त्यसलाई साइड लगाइएको छैन,” उनले भने, “त्यस्तो जोखिम केही देखिएको छैन ।”
बाह्रखरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?