काठमाडौं : एडम जम्पाले चार विकेट लिनुका साथै मिचेल मार्शले ४७ रन बनाएपछि अष्ट्रेलियाले बुधबार राति घरेलु टोली भारतलाई तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१ रनले हराएको छ । योसँगै तीन खेलको शृंखला अष्ट्रेलियाले २–१ ले जितेको छ ।
चेन्नईको एमए चिदम्बरम रंगशालामा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २६९ रन बनाएको थियो । २४९ रनको लक्ष्य पछ्याएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।
यसअघि, अष्ट्रेलियाले दोस्रो खेल १० विकेटले जितेको थियो । पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो ।
बुधबार भारतलाई जितका लागि ३८ बलमा ५२ रन आवश्यक थियो । तर, एडम जम्पाले ४४औँ ओभरको चौथो बलमा ४० रन बनाएका हार्दिक पाण्डेयलाई स्टिभ स्मिथमार्फत क्याच गराए । लगत्तै अर्को स्पेलको पहिलो बलमै जम्पाले १८ रन बनाएका रवीन्द्र जडेजालाई मार्कुस स्टोइनिसको हातबाट क्याच गराए । त्यसपछि खेल अष्ट्रेलियाको पक्षमा गएको थियो ।
४५.१ ओभरमा जडेजा आउट हुँदा भारत २२५/८ को स्थितिमा थियो । त्यसपछि स्टोइनिसले मोहम्मद सिराजलाई बोल्ड गर्नुका साथै कुलदीप यादव रनआउट भएपछि अष्ट्रेलिया विजयी भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?