दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन-पोखरा सडक विस्तारकाे कामका लागि रातिमा थप १८ दिन पूर्ण सडक बन्द गरी काम गर्न लागिएको हो ।
आइतबार बसेको सरोकारवालाको बैठकले सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा थप १८ दिन सवारी साधन बन्द गरी काम गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए ।
हरेक दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गरिने सहायक प्रजिअ गैरेले बताए ।उक्त अवधिमा राति १२ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन आवतजावत बन्द गरी काम हुँदै आएको छ ।
यसअघि उक्त खण्डमा फागुन १२ गतेदेखि २८ गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । त्यस्तै फागुन २८ गतेदेखि चैत १२ गतेसम्म उक्त समय अवधि लम्ब्याइएको थियो ।
पृथ्वी राजमार्ग विस्तारका क्रममा धुलो उडेर सवारी साधनहरु सञ्चालन गर्न असहज हुने हुँदा दुवै खण्डका योजनाहरुले आवश्यकतानुसार सडकमा पानी हाल्ने व्यवस्था मिलाउन समेत प्रशासनले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?