काठमाडौं : अलिबाबाका संस्थापक ज्याक मा पछिल्लोपटक चीनको हाङझाउस्थित एक विद्यालयमा देखिएका छन् । उनी करिब तीन वर्षयता सार्वजनिक स्थानमा विरलै देखिएका थिए ।
सन् २०२० मा चिनियाँ वित्तीय नियामक निकायको आलोचना गरेपछि लामो समय बेपत्ता भएका उनी अहिले सामान्य जीवन बिताइरहेका छन् । प्रविधि क्षेत्रका अर्बपतिहरू बेपत्ता हुने गरेको चीनमा विश्वकै प्रभावशाली उद्यमीका रूपमा रहेका ज्याक मा सबैभन्दा ‘हाई प्रोफाइल’ व्यक्तित्व हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनी एक वर्षभन्दा बढी समय विदेश बसेर हालै चीन फर्किएका हुन् ।
अलिबाबाकै स्वामित्वमा रहेको साउथ चाइना मर्निङ पोस्टले हङकङमा छोटो समय बसेर ज्याकले साथीहरूसँग भेटघाट गरेको र आर्ट बासेल अन्तर्राष्ट्रिय कला मेलाको अवलोकन भ्रमण गरेको जनाएको छ ।
कृषि प्रविधिका बारेमा जान्न ज्याकले विभिन्न देशहरूको भ्रमण गरिरहेको बताइएको छ । ज्याकले आफू किन सार्वजनिक रूपमा कम देखिन थालेको र किन लामो समय सम्पर्कविहीन भएको भन्नेबारे कुनै टिप्पणी गरेका छैनन् ।
अंग्रेजीका पूर्वशिक्षक समेत रहेका माले अलिबाबाको मुख्यालय रहेको सहर हाङझाउको युङ्गु स्कुलमा कर्मचारीसँग पनि भेट गरेको बताइएको छ । उनले शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई)को सम्भावित चुनौतीबारे कुरा गरेका छन् ।
माले भनेका छन्, “च्याटजीपीटी र यस्तै प्रविधिहरू एआई युगको सुरुआत मात्र हुन् । हामीले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर समस्याहरू समाधान गर्नुपर्छ ।”
कुनै समय चीनको सबैभन्दा धनी व्यक्ति रहेका माले यो वर्षको जनवरीमा वित्तीय टेक्नोलोजी जायन्ट आन्ट ग्रुपबाट आफ्नो स्वामित्व बेचेका थिए । २०२० को अक्टोबरमा एक वित्तीय सम्मेलनमा चिनियाँ नियामकको आलोचना गरेपछि उनलाई चिनियाँ सरकारी अधिकारीले नै नियन्त्रणमा लिएर लामो समय सम्पर्कविहीन पारेको अनुमान गरिएको थियो ।
गएको फेब्रुअरीमा चीनको बैंकिङ क्षेत्रका अर्बपति एवं चाइना रेनेसान्सका सीईओ बाओ फ्यानलाई सरकारी अधिकारीले नियन्त्रणमा लिएर बेपत्ता पारेका थिए । बीबीसीबाट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?