दमौली : वैशाख १० मा हुने निर्वाचनका लागि तनहुँ -१ मा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदै आएकाले जिल्ला समन्वय समितिको परिसरमा अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य भएका छन् । चैत्र २० गते उम्मेद्वार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचनको मिति नजिकिँदै गएकाले निर्वाचनको आवश्यक तयारी सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।
मंसिर ४ मा निर्वाचन हुँदा अत्याधिक मतान्तरले विजयी भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपातिमा निर्वाचित भएपछि तनहुँ-१ मा उप–निर्वाचन हुन लागेको हो ।
गत मंसिरमा भएको निर्वाचनमा तनहुँ -१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एक बहादुर रानाले १९ हजार ९ सय ८१ मत आएको थियो भने स्वतन्त्र उम्मेदवार गोबिन्दराज जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?