नयाँ बर्षमा बन्दीपुरमा सडक महोत्सव, १ रूपैयाँमा रूम पाइने

नयाँ बर्षको अवसरमा बन्दीपुरमा १०औ बन्दीपुर सांस्कृतिक,मौलिक तथा सडक खाना महोत्सव हुने भएको छ ।

“सडमै खाऊँ सडकमै रमाऊँ, आन्तरिक तथा बाहय पर्यटक प्रवद्र्धन गरौ” भन्ने मूल नारा सहित तनहुँ उद्योग वाणिज्य संघ,बन्दीपुर बजार इकाई समिति, क्षेत्रिय होटेल संघ,बन्दीपुर बजार इकाई, बन्दीपुर पर्यटन विकास समिति, रेवान तनहुँ,बन्दीपुरको संयुक्त आयोजना तथा बन्दीपुर गाउँपालिकाको संरक्षकमा यहि चैत्र ३० गते र २०८० बैशाख १ र २ गते सांस्कृतिक,मौलिक तथा सडक खाना महोत्सव हुने भएको हो ।

आज बन्दीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वाणिज्य संघ,बन्दीपुर बजार इकाई समितिका अध्यक्ष घनश्याम उपाध्यायले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन गराउनुको साथै पर्यटकहरु बढी भित्र्याउने उदेश्यले यो ३ दिने महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवमा मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न जातजातिको झाँकी प्रदर्शन, बन्दीपुरमै उत्पादित अर्गानिक खानेखुराहरुको स्टल राखी प्रदर्शन लगायतका कार्यक्रम हुनेछन् ।

मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्राआर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । नेपालको संस्कृति,परम्परा र मौलिकतालाई सडक महोत्सवमार्फत् उजागर गर्न खोजिएको बन्दीपुर पर्यटन विकासका अध्यक्ष किसन प्रधानले बताए । सडक महोत्सवमा पचास हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ भने महोत्सव आयोजनामा १५ लाख खर्च हुने उनको भनाइ छ ।

महोत्सवमा नेपालका सबै स्थानबाट आन्तरिक पर्यटकको सहभागिता रहने आयोजकले विश्वास लिएको छ ।

रेवान तनहुँ बन्दीपुरका अध्यक्ष जितेन्द्र भुमिले निजी क्षेत्रले गरेको सडक महोत्सव भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।उनका अनुसार बन्दीपुरका होटलले दैनिक ५ हजार पर्यटकलाई सेवा दिन सक्ने बताए। नेपाल आउने कूल पर्यटकमध्ये ३० प्रतिशत बन्दीपुर घुम्न आउने उनको भनाइ छ । साथै महोत्सवको अवसरमा बन्दीपुरमा रहेको ७० होटलहरुले १  १ जना पर्यटकलाई १ रूपैयाँमा रुममा बस्ने अवसर मिलाइएको क्षेत्रिय होटेल संघ,बन्दीपुर बजार इकाईका अध्यक्ष संगीता प्रधानले जानकारी दिइन् ।

नयाँ बर्षमा बन्दीपुर भ्रमण गरी कार्यक्रममा सहभागी भई भब्य रुपमा सफल बनाउन आयोजकले सबैलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?