
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठमाथि ७२ घन्टे स्पष्टीकरण सोधेको बताएका छन्।
स्पष्टीकरण सोधेको २ घन्टा बितिसकेको र अब ७० घन्टा बाँकी रहेको लामिछानेले बताए।
आज बारा २ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सांसद श्रेष्ठको अडिओ आफूले सुनेलगत्तै उनलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको बताए।
‘अडिओ सार्वजनिक हुनेवित्तिकै सांसद ढाकाकुमार श्रेष्ठलाई हामीले ७२ घन्टाको अल्टिमेटम दिएका छौं। यो विषयमा छानबिन नसकुन्जेल उहाँलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी गराउँदैनौं,’ उनले भने, ‘घडी हेर्दै गर्नुहोला अबको ७० घन्टाभित्र छानबिन गरी दोषी पाइएमा कारबाही गरिन्छ।’
‘अडिओमा भनेजस्तो मेरा वरपरका कोही रहेछन् भने तिनीहरूलाई कति पर पुर्याउनुपर्छ मलाई थाहा छ,’ उनले भने। चुनावका मुखमा अडिओ सार्वजनिक भएको उनको भनाइ थियो।
उनले यस घटनाबारे अनुसन्धान गर्न प्रहरी र अख्तियारलाई आग्रह गर्न आफैं निवेदन लिएर जानेसमेत बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?