तनहुँ–१का जनताको समस्या समाधानमा प्रतिवद्ध छु : गोविन्द भट्टराई

दमौली: आगामी बैशाख १० मा हुने तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले पदमा नरहेर पनि तनहुँको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार बन्दीपुरका विभिन्न स्थानमा मतदाता भेटघाटमा पुगेका नेता भट्टराईले सो बताएका हुन् ।

“धेरै स्थानमा पदमा नहुँदा पनि मैले खानेपानीको समस्या समाधानमा काम गरिरहेको थिएँ,” उनले भने । विभिन्न स्थानमा खानेपानीका लागि महिलाको थाप्लोबाट नाम्लो र डोको हटाउने उद्देश्यले खानेपानीको सहजता कायम गर्न लागिपरेको उनले बताए । खानेपानीका लागि घण्टौं समय खर्चनुभन्दा उनीहरुलाई अन्य आयआर्जनसँग जोड्न सकिन्छ भनेर खानेपानीको समस्या समाधान गर्नु आवश्यक रहेको उनको भनाई छ । भट्टराईले पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पु¥याउने उनले बताए ।
“केही स्थानमा अझैसम्म बिजुली पुगेको छैन, यसको समाधानका लागि पदमा नहुँदा पनि मैले पहल गरिरहेको छु र अझ सहज रुपमा पहल र काम गर्न पाउने स्थानमा पु¥याउने जिम्मेवारी तनहुँ–१ का मतदाताको हातमा रहेको छ, मलाई मतदान गरी विजयी बनाउनुहुन्छ भन्ने अपेक्षा राखेको छु,” भट्टराईले भने ।

वर्तमान अवस्थामा सुकुम्बासी समस्या ठूलो रहेको भन्दै भट्टराईले गठबन्धन सरकारले मात्रै सुकुम्बासीको समस्या समाधान गर्ने बताए । “सुकुम्बासी समाधानमा अझ छिटो पहल गर्नका लागि तपाईको मतले मलाई संसदमा पु¥याउँछ,” उनले भने । लोकतान्त्रिक बाम गठबन्धनको सरकारले जनताको आवश्यकतामा रहेको सुकुम्बासी समस्या समाधानमा लागि परेको उनले बताए ।
“देशमा अहिले तीन स्थानमा उपनिर्वाचन हुँदैछ, दुई स्थानमा भन्दा चितवनको फरक रहेको छ”, भट्टराईले भने, “तनहुँमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको र बारामा रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचन भएपछि खाली रहेकोले उपनिर्वाचन भएको हो तर चिवतनमा नागरिकताको लावरवाहीले गर्दा उपनिर्वाचन भएको मतदातालाई जानकारी गराएँ ।”

तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले तनहुँमा प्रसुती, क्यान्सर, मृगौला वा बाल सम्बन्धी विशिष्टिकृत अस्पतालसमेत स्थापना गर्ने योजना रहेको बताए । जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिदै उनले शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशुली करिडोर लगायतका योजनाालाई पाँच वर्षभित्र स्तरोन्नति गरिसक्ने उनले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापाले यस क्षेत्रबाट निर्वाचित हुनुभएका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर सर्वोच्च पद एवं देशको संरक्षकको रुपमा निर्वाचित हुन सफल भएकोले यस क्षेत्रको विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको जित आवश्यक रहेको बताए । देशको संरक्षक पौडेलको क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार विजयी हुनुपर्ने उनको दावी छ । उनले गठबन्धन सरकारले गरेका कार्यलाई गालीगलौज गरी काम नगरेको भनेर अन्य पार्टीका उम्मेदवारले आरोप लगाउने गरेको भए पनि यस सरकारले मात्रै तनहुँको विकास सम्भव रहेको उनले बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस बन्दीपुर सभापति कर्ण खत्री, माओवादी केन्द्रका हेमराज क्षितिज लामिछाने लगायतले गठबन्धनको सरकारले मात्रै जनताको माग पुरा गर्न सक्ने भएकाले एक ढिक्का भएर लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?