‘कारबाही भए कोर टिम खुलासा गर्ने’ ढाकाकुमारको चेतावनी

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् ।

अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले त्यस्तो चेतावनी दिएका हुन् ।

समितिले मंगलबार सांसद श्रेष्ठसँग करिब एक घण्टा सोधपुछ गरेको थियो । बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेका थिए । ‘मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका छन्,’ समितिका एक सदस्यले जानकारी दिए ।

समितिका पदाधिकारीहरूले अडियोमा भनिएजस्तो ‘कोर टिम’ के हो ? त्यसमा को–को छन् र त्यसले कसरी काम गर्छ लगायतका प्रश्न गरेको तर श्रेष्ठबाट जवाफ नआएको ती सदस्यको भनाइ छ । ‘पार्टीमाथि यति गम्भीर आरोप लागेकाले स्पष्ट हुन हामीले कोर टिमबारे सोध्यौं । उनले म अहिले भन्दिनँ तर मलाई एक्लो पारिएमा एक दिन सार्वजनिक रूपमा प्रमाणसहित खुलासा गर्छु भनेका छन्,’ ती सदस्यले भने ।

श्रेष्ठले पार्टी सभापतिलगायत कसैको विषयमा केही नबोलेको पनि ती सदस्यले बताए । ‘हामीले सोध्दा उहाँले सहानुभूतिको मात्र अपेक्षा गर्नुभएको देखियो,’ उनले भने ।

समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । समिति सदस्यसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले पनि चार पृष्ठको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएको पुष्टि गरे । ‘प्रतिवेदन बुझाएका छौं । उहाँ (श्रेष्ठ) ले त होइन मेरो आवाज होइन, यो सबै क्यारिकेचर हो, यसमा विस्तृत अनुसन्धान होस् अनि कारबाही सजाय गरिपाउँ भन्नुभएको थियो,’ न्यौपानेले भने, ‘तर, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएको पार्टीको मूल मान्यताअनुसार सुझाव दिएका छौं ।’

पार्टी र जनतालाई धोका दिएकाले उनलाई प्रतिनिधिसभा सदस्य र पार्टी सदस्यबाट हटाउनेसम्मको कारबाही गर्ने गरी सिफारिस गरिएको समितिका एक सदस्यको भनाइ छ । ‘हामीले सिफारिस गर्ने हो, अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने हो,’ उनले भने । रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा हुन् । सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी छन् । चितवनमा रहेका सभापति रवि लामिछानेलाई इमेलबाट प्रतिवेदन पठाएर फोन गरी प्राप्त भए नभएको सुनिश्चित गरिएको पनि ती सदस्यले बताए ।उनले आफ्नो नाम भने उल्लेख गर्न मानेनन् । ‘केन्द्रीय समितिलाई हामीले जे सिफारिस गरेका छौं त्यसको हुबहु गर्नॅपर्छ भन्ने छैन । थप अनुसन्धान पनि हुन सक्छ । कारबाही घटाउन वा बढाउन पनि सक्छ,’ ती सदस्यको भनाइ छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?