तनहुँको किहुँमा निशुल्क स्वास्थ्य शिविर हुँदै, हाडजोर्नी देखी स्त्रीरोग सम्मको उपचार

दमौली : फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा तनहुँको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

‘नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ’ भन्ने मुल नाराका साथ आगामी जेठ १३ गते भिमाद नगरपालिका १ स्थित किहुँमा शिविर सञ्चालन गर्न लागेकोे सोसाइटीका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिए।

ग्रामिण भेगका मानिसहरुले स्वास्थ्यलाई त्यति ध्यान नदिँदा विभिन्न खालका समस्याहरु आईरहेकाले ती समस्याहरुको केही मात्रामा भएपनि समाधान गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको संयोजक सिग्देलले बताए ।

सिग्देलका अनुसार शिविरमा डा. कृष्ण राज अधिकारी, डा. नविन कुमार श्रेष्ठ, डा. मेघराज लामिछाने, डा. सन्तोष बराल, डा. राज गुरुङ , डा. रुपचन्द्र विश्वकर्मा, डा. राम खड्का लगायतका चिकित्सकहरुको सहभागीतामा स्वास्थ्य परीक्षण हुनेछ ।

शिविरमा पेट, मुटु, सुगर, थाइराइड, हाडजोर्नी, नसारोग,, स्त्री तथा प्रसुती रोग, सम्बन्धी सम्पुर्ण परिक्षण सँगै निशुल्क औषधि वितरण गरीने छ । साथै उक्त शिवीरमा उपचार सम्भव नभएका विरामीको त्यस समय पछिको उपचारको लागी पनि समन्वय गरीने कार्यक्रम संयोजक सिग्देलले जानकारी दिए ।

फुकुओका नेपाल सोसाइटीको आयोजना, तनहुँ सामाज जापानको सहआयोजना, भिमाद नगरपालिका वडा नम्बर १ को सहकार्य र तनहुँ सेवा हस्पिटलको प्राविधीक सहयोगमा भिमाद नगरपालिका १ किहुँ स्थित श्री सिद्धार्थ माध्यामीक विद्यालयको प्रांगणमा शिविर सञ्चालन हुनेछ ।

सन १९९५ सालमा स्थापना भएको यस सोसाइटीले नेपालमा यस प्रकारका कार्यक्रमहरु गर्दै आएको छ । यस सोसाइटीले यस अगाडी पर्वतमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

नेपालका अन्य जिल्लामा पनि क्रमशः कार्यक्रम गर्दै जाने सोसाइटीका अध्यक्ष माधव सिग्देलले जानकारी दिए । अध्यक्ष सिग्देलका अनुसार २०७२ सालको भुकम्पको बेला पनि यस सोसाइटीले नेपालमा धेरै सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?