दमौली बजारबाट खसी भन्दै बाख्रीको मासु बेच्ने दुई पक्राउ

दमौली : तनहुँको व्यास नगरपालिका-३ दमौली स्थित मासु  बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई हाल तनहुँको व्यास नगरपालिका–५ चापाघाट बस्ने १९ वर्षीय इस्तखास आलम र सोही ठाउँ बस्ने ४० वर्षीय सनोज देवान रहेको छ  ।

व्यास –३ तरकारी लाइन स्थित मासु बजारमा सञ्चालित महम्मद फिरोज मासु पसलमा अनुगमनका क्रममा उनीहरुलाई खसी भनेर बाख्री काट्दै गरेको अवस्थामा सोमबार  पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

पक्राउ पर्नेहरूले बिक्रीका लागि राखिएको खसीको मासुमा बाख्रीका पहिचान खुल्ने अंग लुकाएर बाख्रीको मासु मिसाएर बेच्दै आएका थिए ।

प्रहरीले पसल सञ्चालक आलम र बाख्री काट्दै गरेका देवानलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय तनहुँबाट कालोबजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?