दमौली ट्रेड सेन्टरलाई खाली गर्नुपर्ने माग गर्दै वडावासीले गरे जिससको कार्यालय घेराउ

दमौली :  तनहुँको व्यास नगरपालिका–२, गणेशमान चोकस्थित  दमौली ट्रेड सेन्टरको व्यापारिक भवन भत्काएर उद्यान (पार्क) बनाउनुपर्ने माग गर्दै वडावासीले जिल्ला समन्वय समिति तनहुँका कार्यालय लाई घेराउ गरेका छन्। व्यास नगरपालिका -२ का वडावासीले विहिवार  कार्यालयलाई घेराउ गरेका हुन्।

१७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउनु पर्ने माग राखेका छन् ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिका पुर्व सभापति राज कुमार श्रेष्ठ(राकु) जिल्ला समन्वयले पुनःपाँच वर्ष बिना प्रतिस्पर्धा म्याद थप गर्नु आपत्तिजनक रहेको बताए।

“खुला कतै छैन, जताततै भौतिक संरचना छन् ,भुइँचालोलगायत अन्य प्राकृतिक प्रकोप गयो भने बस्ने ठाउँ छैन। ” उनले भने ” त्यही भएर भत्काउनुपर्ने माग राखिएको हो  ।”

आगामी असार मसान्तपछि ट्रेड सेन्टर जिल्ला समन्वय समितिको स्वामित्वमा आउने र साउन १ गतेदेखि उक्त सटर जिल्ला समन्वय समितिले प्रतिस्पर्धाबाट भाडामा लगाउने तयारी गरेको छ ।

२०६९ साल असार ३१ गते तत्कालीन जिल्ला विकास समिति र व्यास नगरपालिका–४ का दिपेश बस्नेतबीच भएको व्यापारिक सम्झौता गरी खुला स्थानमा व्यापारिक भवन बनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?