दमौली : उपचारका क्रममा मृत्यु भएका व्यास नगरपालिका घरनक्सा शाखाका इन्जिनियर कमल शर्माको छोरालाई पढाउन नगरपालिकाले सहयोग गर्ने भएको छ । इन्जिनियर शर्माको निधनमा व्यास नगरपालिका परिवारले दुख व्यक्त गर्दै आइतबार शोक आधा दिन शोक बिदा गरेको हो ।
नगरपालिका सभाकक्षमा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको अध्यक्षतामा आइतबा नै शोक सभा गरिएको छ । दिवंगत शर्माका छोराको पठनपाठनका लागि नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता नगरप्रमुख वैकुन्ठ न्यौपानेले बताए ।
बिरामी भएपछि असार १३ मा दमौलीकै रत्नहरि अस्पतालमा भर्ना भएका उनलाई चिकित्सकले चरक अस्पताल रेफर गरेका थिए । १६ गते साँझ उनको निधन भएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।
अस्पतालबाट हुने सेवा प्रवाहका विषयमा रत्नहरि अस्पतालका सञ्चालक, शर्माको उपचारमा रहेका चिकित्सक, दिवंगत शर्माका आफन्तबीच छलफल समेत भएको छ ।अस्पतालमा आउने बिरामीको उपचारमा संवेदनशील हुने र यस विषयमा पुनः छलफल गर्ने गरी सहमति भएको नगर प्रमुख न्यौपानेले बताए ।
नगरपालिकाभित्रका अस्पतालहरुले दिने सेवा र प्रयोगशालाका प्रति पटक पटक गुनासो आएको, नवीकरण, दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको सम्बन्धमा ५ दिन भित्र प्रभावकारी अनुगमन गर्ने र आवश्यक सुधारका लागि सम्बन्धित अस्पताललाई निर्देशन दिने, निर्देशन पालना नगरेमा कानुन बमोजिम कारबाही बढाउने नगरपालिकाले निर्णय गरेको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?