तनहुँमा सात हजारले लिए वैदेशिक रोजगारसम्बन्धी परामर्श

दमौली : तनहुँमा आर्थिक वर्ष २०७९/८० को अवधिमा तनहुँ जिल्लाबाट राहदानी लिन आउनेमध्ये सात हजार ९१ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार तनहुँ जिल्लामा सञ्चालित परियोजनाअन्तर्गत आप्रवासन सेवा केन्द्रमार्फत उनीहरुलाई सुरक्षित वैदेशिक रोजगार परामर्श सेवा प्रदान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा राहदानी बनाउन आउने मध्ये आप्रवासन सेवा केन्द्रले सात हजार ९१ जनालाई मात्रै वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा दिनसकेको सामी परियोजनाका संयोजक लुन राना मगरले जानकारी दिए ।

यस्तै सामी परियोजनाअन्तर्गत वैदेशिक रोजगारी गरी फर्किएका रिटन स्वंयसेवकमार्फत जिल्लामा ९ हजार ७ सय १३ जनालाई व्यक्तिगत भेट गरेर वैदेशिक रोजगारीसम्बन्धी सूचना प्रवाह भएको जनाइएको छ । एक हजार छ सय ८० लाई सामुदायिक अभिमुखीकरण मार्फत सूचना प्रदान गरेका छन्  । त्यस्तै,३ सय ५० जनालाई गहन सामुदायिक अभिमुखीकरण मार्फत सूचना पदन गरेको जनाएको छ ।

सुरक्षित आप्रवासन परियोजनाद्वारा सञ्चालित सामी परियोजना तनहुँ जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, देवघाट र  बन्दीपुर गाउँपालिकामा सञ्चालित छ ।

सामी परियोजनाका संयोजक राना मगरले आव एक सय ५१ वटा न्यायका लागि निवेदन परेको बताइन। तीमध्ये ७६ समाधान भएको र ७५ मुद्दा बाँकि रहेको बताइन । यस्तै ठगीमा परेका ५२ जनाको क्षतिपूर्ति रकम फिर्ता गर्न सफल भएको बताइन।

विदेशमा भनेजस्तो काम नपाएको, बिचौलियाका कारण रकम फसेको जस्ता धेरै उदाहरण रहेको भन्दै असुरक्षितरूपमा विदेश जानलाई परियोजनाले रोक्नुपर्नेमा विश्व रहेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

यस्तै सामी परियोजनाले सूचनामा नागरिकको पहुँच पुर्याउनुका साथै सीपमा पहुँच, न्याय, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता पनि प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?