फेरियो न्यूरोडको मुहार

पोखरा : पोखराको न्यूरोडको मुहार फेरिएको छ । सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोपेपछि मुहार फेरिएको हो ।

आज (सोमबार) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गरे । वृक्षारोपण पश्चात बोल्दै मेयर आचार्यले स्मार्ट सडक बत्तीसहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण इक्सोरा प्रजातिको बिरुवा लगाइएको धारणा राखे ।

उनका अनुसार डिभाइडर भरी करिब ८ सय बिरुवा लगाइने छ । बिरुवाको संरक्षणका लागि स्थानीयहरूसमेत जिम्मा दिएको बताए । ‘विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन, प्रमुख आचार्यले भने, ‘बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ । अब कसैलाई छुट दिइने छैन त्यसकारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सबैमा अनुरोध छ ।’

उनले परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको बताउदै राम्रो रिजल्ट आएको खण्डमा अन्य स्थानमा पनि लगाइने बताए । पोखरामा उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगेको छ । पोखराका अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?