
दमौली : नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले शुक्रवार (असार २९ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार एक सूचना जारी गरी भानु जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले भानु जयन्तीका दिन बिदा दिने निर्णय गरेको थियो ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिएका आचार्यको सम्मानमा भानु नगरपालिकाले पनि दुई वर्षदेखि सार्वजनिक विदा दिँदै आएको छ । विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविको रुपमा परिचित आचार्य वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।
आचार्यले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपीलाई सङ्ग्र्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि आचार्य नेपाली साहित्यिमा चिनिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?