एक सय ५ जना मिर्गौला र क्यान्सरका बिरामीले पाए मासिक पाँच हजार

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाका १ सय ५ जना  मिर्गौला र क्यान्सरका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिएको छ । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गएको कात्तिक महिना देखि औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिदै आएको  नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

चिकित्सकको सिफारिसमा वडा कार्यालय मार्फत चालु वर्षमा एक सय ५ जनाको निवेदन परेको उनले बताए । जसमा क्यान्सरका बिरामी ६४ जना,डायलाइसिस गरेका बिरामी ३४ जना, मृगौरा प्रत्यारोपण गरेका ६ जना र मेरुदण्डको पक्षघातको १ जना बिरामीले औषधी खर्चवापत ९ महिनाको ४५ हजार रुपैया पाएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

सरकारको ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका १सय ५ जना बिरामीलाई औषधि खर्चबापत ४० लाख १० हजार रकम प्रदान गरिएको उनले बताए ।

सरकारले तोकेको  लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताईन् ।

उनको अनुसार  सम्बन्धित व्यक्तिले उपचार गराइरहेको सिफारिस चिकित्सकले गरिदिएपछि बिरामीले उपचार खर्च माग गरेर नगरपालिकामा निवेदन दिनुपर्छ ।  मेरुदण्ड पक्षघात भएका बिरामीको हकमा भने अपांगतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित काम गर्ने उनले बताईन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?