आँखा पाक्ने रोग बढेपछि आँबुखैरेनीका विद्यालय बन्द

दमौली : तनहुँको आँबुखैरेनीका गाउँपालिकाले आँखा पाक्ने रोग बढ्दै गएपछि एक दिनको लागि विद्यालय बन्द गरेको छ ।

विद्यालय पढ्न जाने बालबालिकामा आँखामा संक्रमण बढी भएको पाइएपछि गाउँपालिकाले शुक्रवार एक दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले वर्षे विदामा मिलान गर्ने गरी जोखिमलाई मध्यनजर गरेर एक दिन विद्यालय बन्द गरिएको जानकारी दिए । जिल्लाका विभिन्न आँखा पाक्ने रोग प्रकोपको रुपमा फैलिएको छ ।

विद्यालयमा बढी भिडभाड हुने भएकाले बालबालिका संक्रमणको बढी जोखिममा छन् । मुख्य बजार र भिडभाड बढी हुने ठाउँमा एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले समयमा सर्तक रहन र आँखामा समस्या देखिए तत्काल आँखा अस्पतालमा पुग्न स्वाथ्यकर्मीले आग्रह गरेका छन् ।

पहिले तराई क्षेत्रमा भाइरल जस्तै देखिएको यो संक्रमण बिस्तारै सबैतिर फैलन थालेको छ । विशेषगरी विद्यालय तहका विद्यार्थीहरु बढी संक्रमण भएको र उनीहरुमार्फत घरघरमा पुगेको स्वास्थ्यकर्मीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?