गौहत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै राप्रपा तनहुँले बुझायो ज्ञापन पत्र

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापन पत्र बुझाएको छ । देशका विभिन्न स्थानमा राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भइरहेको जनाउँदै राप्रपा तनहुँले त्यसलाई रोक्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।

मासु खाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र त्यस्तो गर्न पाउनुपर्छ भन्दै खुलेआम चुनौति दिने पक्षलाई सरकारले कारवाही गर्न उदासिनता देखाएको अध्यक्ष घर्तीले बताए ।

नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ तथा २८९ विरुद्ध भएका यस्ता गतिविधिउपर रोक लगाई सम्वन्धित पक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा संविधानको धारा २६ को उपधारा(३) ले दिएको अधिकार अनुरुप शान्तिपूर्ण रुपले विना हतियार भेला हुन पाउने अधिकार बमोजिम सनातन परिवारले गर्न लागेको विशाल जनसभामा लगाएको निषेधाज्ञाले हिन्दु धर्मावलम्बीहरुप्रति सरकारको रवैया थप प्रष्ट भएको ज्ञापनपत्रमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?