शिद्दगुफा महोत्सव आगामी माघ ११ गते हुने

दमौली :दक्षिण यशियाकै दोस्रो ठूलो दाबी गरिएको तनहुँको बन्दिपुर ४ बिमलनगर नजिकै रहेको शिद्दगुफाको प्रचार–प्रशारका लागि शिद्दगुफा महोत्सव आगामी माघ ११ गते  आयोजना गर्ने भएको छ ।
आज बन्दिपुर गाउँपालिका कार्यपालिकाको बैठक गुफा भित्र सम्पन्न गरि उक्त बैठकले एक दिने शिद्दगुफा महोत्सव आगामी माघ ११ गते श्री स्वस्थानी व्रत आरम्भको दिन भब्य रुपमा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिए। बन्दिपुर गाउँपालिकाको आयोजनामा सिद्धगुफा बिकास समिति, स्थानीय संघसंस्था लगाएतको संयोजनमा उक्त दिन एक दिने महोत्सव हुने भएको हो ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार महोत्सवले गुफाको प्रचार–प्रशार भई आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ्ने र स्थानीयले रोजगारी पाउनुका साथै आर्थिक उपार्जन गर्न सकिने भन्दै पहाडकी रानी उपनामले परिचित बन्दिपुर र आसपासका क्षेत्रमा पर्यटक भित्र्याउनु मुख्य लक्ष रहेको बताए ।
बैठकले अन्य महत्वपूर्ण निर्णयहरु समेत गरेको छ । विश्व पर्यटन दिवश सेप्टेम्बर २७ का दिन भोली बुधबार बन्दिपुरमा पर्यटन सम्बन्धि कार्यक्रम भब्य रुपमा मनाउने निर्णय गरेको छ । त्यसैगरी जिल्लामा डेंगुको संक्रमण बढी रहेकाले जनचेतना कार्यक्रम अन्तरगत प्रतेक वडामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तिब्र पार्ने र बन्दिपुर अस्पतालमा रोग परीक्षण किट तत्काल खरिद गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्त्ता एवं वडा नं. १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । चाडपर्वलाई मध्यनजर गर्दै बजारमा कालो बजारी, अखाद्य बस्तुको बिक्री वितरण, लगाएतको कैफियत रहन सक्ने हुँदा बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ भने विद्यालय नर्स कार्यक्रम अन्तरगत पालिका भित्र रहेका ९ वटै माध्यमिक विद्यालय र ३ वटा आधारभूत विद्यालयमा मासिक रुपमा एक–एक जना नर्सलाई खटाउने निर्णय भएको छ ।
तेस्तै बैठकले हाललाई बन्दिपुर बजारमा कोशेली घरको स्थापनाका लागि प्रोत्साहन गर्ने निणर्य समेत भएको वडा नं. ५ का अध्यक्ष धु्रबप्रसाद लामिछानेले बताए । बैठकमा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त गुफा भित्र अघिल्लो कार्यकालको पालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाको पालामा पनि गुफाको प्रचार–प्रशार गर्न भन्दै कार्यपालिकाको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?