चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताएका छन् ।

आज चीनको स्वशासित क्षेत्र ल्हासा पुगेका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।”

यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उनको भनाइ थियो । त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको बताए ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस भेटवार्ताका क्रममा नेपाललाई उनले निकै नै महत्त्व दिएको आफूले पाएको बताए ।

सो भेटका क्रममा सौहार्दपूर्ण कुराकानी भएको र यसबाट नेपाल–चीन सम्बन्धमा सो भेटवार्ता एक महत्त्वपूर्ण सिद्ध हुने बताए । राम्रो समझ्दारी बनेको र राम्रो परिस्थितिको सुरुआत भएकाले यसले आगामी दिनमा राम्रै परिणाम दिने उनको भनाइ थियो ।

यस भ्रमणबाट नेपाल–चीनबीचमा नयाँ भरोसा उत्पन्न हुनुका साथै नयाँ सहमति र समझदारी बनेको बताउँदै यसले नेपालका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?