दमौली : पाटन युवा क्लवको आयोजनामा दोस्रो पाटन खेलकुद, कृषि, व्यापार, सांस्कृतिक एवं पर्यटकीय महोत्सव महोत्सव सुरु भएको छ। तनहुँको व्यास नगरपालिका–५ पाटनमास्थित खेलकुद मैदानमा बुधवार देखि दोस्रो संस्करणको महोत्सव सुरु भएको हो।
कात्तिक ४ सम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेलेले उद्घाटन गरेका हुन्। महोत्सवको उद्घाटन मन्त्री आले ग्रामिण, पर्यटकीय क्षेत्रको विकासका लागि योजना बनाईरहेको बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले तनहुँमा महोत्सव सुरु भएपछि यहाँका जनजातिहरुको भाषा भेषभूषामा संरक्षण गर्न सहयोग पुगेको बताए ।
ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले ऋषिङ गाउँपालिका र पाटनको आफ्नै छुटै सम्बन्ध रहेको बताए । उनले ऋषिङ गाउँपालिकाका नागरिक पनि यहाँ वसोवास गर्ने भएकाले पाटन र ऋषिङको छुटै सम्बन्ध रहेको स्पष्ट पारे।
आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष अमरबहादुर थापाले बताए ।
रमाइलो मेला, फुटवल, भलिवल प्रतियोगिता समेत हुने महोत्सवमा प्रवेश गर्नका सामान्य व्यक्तिका लागि ८० रुपियाँ र विद्यार्थीका ५० रुपियाँ टिकट दर तोकिएको छ । साथै ८ बर्ष मुनिका , जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
१५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करीब ३० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी २० लाख र नाफा १५ लाख ३५ हजार रुपैयाँ हुने अनुमान छ ।
दुई सय स्टल हुने महोत्सवमा संजिव सिंह राना ,श्याम राना ,ज्योति मगर, प्रिती आले, दुर्गेश थापा, भोजराज काफ्ले, राजन चौलागाई, कर्णराज गिरी, रमेश प्रसाई, प्रिन्स मल्ल लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ ।
महोत्सव असोज २४ देखि कात्तिक ४ गतेसम्म चल्नेछ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?