भीमफेदीमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

हेटौँडा : काठमाडौँबाट हेटौँडातर्फ आउँदैगरेको स्कुटर मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना हुँदा स्कुटर चालक श्रीमान् घाइते भएको छ । स्कुटर पछाडि बस्ने उनको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर पछाडि बस्ने काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उपचारको क्रममा बुधवार ७ बजेर २० मिनेटको समयमा हेटौँडा अस्पतालका डाक्टरले मृत घोषणा गरेको उहाँले बताए । स्कुटर दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६५ वर्षका शशिराज पाण्डे घाइते भएको छ । उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तर्गत काठमाडौँबाट हेटौँडातर्फ आउँदैगरेको बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर अनियन्त्रित भई एकसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?